Twitter

Follow palashbiswaskl on Twitter

Wednesday, December 24, 2014

पवित्र गाई र आदिवासी जनजाति

पवित्र गाई र आदिवासी जनजाति

सन् २००१ मा प्रकाशित द्विजेन्द्रनारायण (डीएन) झाको 'द मिथ अफ् अ होली काउ' भारतमा एकदमै विवादास्पद किताबमध्ये एक हो । दिल्ली विश्वविद्यालयको इतिहासका प्रोफेसर झाले थुप्रै किताब लेखे, जसमा अधिकांशमा भारतीय इतिहासका विषय केलाइएको छ । यसै क्रममा उक्त पुस्तक प्रकाशनमा आएपछि ठूलो विवाद भयो । केहीले उनको विचारले हिन्दुहरूको आस्थामाथि चोट पुरयाएको भन्दै मार्ने धम्कीसमेत दिए । केहीले उनीमाथि माक्र्सवादी र 'ब्लास्फेमी' (ईश्वर निन्दा) भएको आरोप पनि लगाए । तैपनि यो किताबको प्रकाशनपछि धेरैले यसभित्र रहेका विचार र विश्लेषणलाई मन पराए । उक्त रचनापछि डीएन झाको नाम भारतमा थाहा नपाउने प्रबुद्ध पाठक कमै रहे ।

के थियो र त्यस्तो त्यो किताबमा ?

६ अध्यायमा बाँडिएको यो किताबमा भारतमा व्याप्त रहेका गाईसम्बन्धी धार्मिक मिथकको चिरफार गरिएको छ । किताबको अन्त्यमा अम्बेडकरको एउटा लेख पनि छापिएको छ । झाका अनुसार हिन्दु समाजमा जसरी गाईलाई पुजिन्छ, ऐतिहासिक पृष्ठभूमि भने त्यसको बिल्कुलै उल्टो अवस्था थियो । गाईलाई 'कलियुग'तिर आएर मात्रै पुज्न थालिएको हो । वेद र त्यसपछिका समयमा गाईको काटमारै हुन्थ्यो । यसमा ब्राह्मणहरूमात्रै होइनन्, बौद्ध र जैन पनि सामेल हुन्थे । वेदको समयलाई केलाउने क्रममा झाले ऋग्वेदमा गाईकै कारण गाभिस्ती, गाभ्यु र गाभीसानालगायतका समुदायबीच लडाइँ भएको पनि उल्लेख गरेका छन् । यसैगरी गाई तथा पशुबलि र काटमार पहिलेको आर्य समाजमा व्याप्त रहेको उनको जिकिर छ ।

ऋग्वेदलाई केलाएका झाका अनुसार गोरुको मासु देउता इन्द्रलाई चढाइन्थ्यो, जसमा उनका लागि १५ देखि २० गोरुसम्म पकाइन्थ्यो । मनु संहितामा पनि गाईलाई खाद्य पशुहरूको सूचीबाट बाहिर राखिएको छैन । उक्त क्रियाकलाप महाभारत र रामायणमा पनि व्याप्त भएको र कलियुगमा पनि भएको उनको जिकिर छ । पछिल्लो अवधिमा गाईलाई गौमाताको संज्ञा दिँदै कयौं राजाले आफ्नो वैधानिकता कायम गरेको र अरुमाथि 'अपवित्रता'को संज्ञा थोपरेको पनि उनको तर्क छ ।

अम्बेडकरले गाईलाई प्रयोग गरेर मात्र ब्राह्मणहरूले दलितलाई 'अछूत' बनाएको पनि उल्लेख गरेका छन् । झाले यिनै तथ्यका आधारमा गाईको पवित्रतामाथि प्रश्न गरेका छन् र गाईको पवित्रता मिथक सिवाय अरु केही हैन भनेका छन् ।

आदिवासी जनजाति, गाई र अहिलेको समस्या

एक्सल माइकल्सले (सन् २००८) नेपालमा गाई र राजाको सम्बन्धलाई विश्लेषण गर्दै मुलुकी ऐनमा रहेका ऐनलाई प्रश्न गरेका छन् । माइकल्सका अनुसार नेपाली राजाहरू क्षत्रिय वर्णका भएकाले उनीहरूले कहिले पनि अहिंसालाई अँगीकार गरेका छैनन् । यद्यपि मुलुकी ऐनमा गौहत्यालाई निषेध गर्नु भनेको गाईको पवित्रता बचाउनु र हिन्दु राजाको सनातनी शासन बचाउनु सिवाय अरु केही होइन । मुलुकी ऐन लागु भएको २० वर्षको अन्तरालपछि हिमाली चौंरीलाई पनि गाईअन्तर्गत ल्याउने कानुन लादिएको थियो ।

माइकल्सका अनुसार बनारसबाट फर्केलगत्तै पूर्वको कन्का नदी र पश्चिमको गढवालसम्ममा 'आजदेखि गौवध नगर्नू' भन्ने आदेश दिइनुलाई रणबहादुर शाहले आफूमा बनारस बस्दा उब्जेको बिट्रिस सरकारविरोधी भावनालाई पोखेको र आफू स्वच्छ र पवित्र हिन्दु हो भनेर साबित गर्न खोजेको मात्र हो । माइकल्सले नेपालका आदिवासी जनजातिको कुरा गर्दै उत्तरका मगरहरूले राज्यको विभेदकारी नीतिलाई चुनौती दिने क्रममा गाईलाई काटेको प्रसंग पनि जोडेका छन् । त्यस्तै, हुम्लाका केही मानिसले भोकाएको बेला केही नपाएपछि याकको मासु खाएको र आफ्नो ज्यान जोगाउन जंगबहादुरको पालामा देश छाड्नु परेको, गीर्वाणयुद्धविक्रम शाहले शेर्पा, हायु, लेप्चा, र सार्कीहरूलाई गाईको समेत छाला मगाएको र त्रिशुलीदेखि पूर्वका गुरुङ, लामा जातिहरूले पनि ब्राह्मणलाई पुज्ने तथा गाईको मासु सेवन नगर्ने भएपछि मात्र सेनामा भर्ती हुने व्यवस्था गरेको तथा सोलुका शेर्पालाई सिनो खान पनि गाईगोरुको छाला तथा 'चोखो दण्ड' गीर्वाणयुद्धलाई तिर्नु परेको तथ्य पनि उल्लेख गरेका छन् । राजा महेन्द्रले पनि आफ्नो राज्याभिषेकमा पाकिस्तानबाट गोरुको छाला मगाएर प्रयोग गरेको सबैलाई थाहा भएकै कुरो हो ।

किरात, लिम्बु, तामाङ तथा डोल्पोजस्ता कयौं आदिवासी जनजातिहरूबीच पनि गोरुको मासु प्रचलित छ । किरातले गाईगोरु काटेर वा मासु प्रयोग गरेर थेबे साङबङ, सिङसाबाङ र पित्त मसाङबाङ पूजामा प्रयोग गर्छन् । लिम्बूहरूमा गाईगोरु काटे बापत वा मासु प्रयोग गरे बापत रणबहादुर शाहलाई मेग्चेन कर तिर्ने चलन थियो । तामाङहरूलाई गाईगोरु काटेको हुनाले 'पवित्र' काठमाडौं प्रवेशमा प्रतिबन्ध लगाइएको इतिहास पनि छ । नाङले भूत मन्साउनेलगायत अन्य पूजामा पनि तामाङहरूले गाईगोरुको मासु प्रयोग गर्ने चलन छ । त्यसैगरी विशेष पूजामा गोरु वा चौंरीको प्रतीक बनाएर राख्ने चलन हिमाली आदिवासी तथा बौद्ध धर्ममा चलन छ ।

यस पंक्तिकार आबद्ध रहेको डोल्पो समुदायले पनि गोरु खाँदै आएका छन् । उनीहरूले यसलाई दुनै सदरमुकामभन्दा २–३ दिन पारि गाउँसम्म मात्रै सीमित राखेका छन् । यस्तो काम डोल्पो समुदायको रहनसहन, संस्कृतिसँग पनि धेरै जोडिएको पाइन्छ । त्यहा"को भौगोलिक विकटताबीच हरियो फलफूल र सागपात कम मात्रामा पाइने भएर पनि यस्तो चलन रहेको देखिन्छ । यस्तो काम गरेको निहुँमा जिल्लाको पुलिस प्रशासनले रोकेको र केही डोल्पोलाई त गोरु मारेको अभियोगमा जेलचलानसम्म गरेको पनि पाइन्छ ।

विगतमा थुप्रै नेपालीले गाईको मासु या गौमातालाई बेइज्जत गरेको आरोपमा सजाय भोग्दै आएको कुरा कसैलाई नौलो नलाग्नसक्छ । 'गाई त राष्ट्रिय जनावर पो त, कहाँ त्यसको मासु खान पाइन्छ त' भनेर 'पवित्रता' थोपर्ने जत्था पनि यो समाजमा नभएको होइन । काठमाडौंमा बस्दै आएका नेपालीलाई थाहा नहुनसक्छ, 'गाई मारयो' भनेकै आरोपमा धेरै आदिवासी जनजातिले सजाय भोग्दै आएका छन् । 'मारेरै खाएको हो कि मरेको खाएको हो ?' सोधखोज गर्ने समय प्रशासकहरूसँग कहाँ छ र !

केही महिनाअघि मात्रको कुरो, भीरबाट लडेर हातखुट्टा भाँचेर मर्न लागेको अवस्थामा पुगेको गोरु खाँदा पाँचथर रानीटार गाविस–२ निवासी दलबहादुर गुरुङलाई १२ वर्षको जेल चलान गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान महासचिव आङ काजी किसानका अनुसार, आर्थिक अवस्था कमजोर भएका कारण वकिल राख्न नसक्दा प्रहरीले तयार गरेको मुचुल्का र सरकारी वकिलको एकतर्फी बहसको आधारमा गुरुङलाई १२ वर्षको सजाय तोकिएको हो । यसैगरी, किसानका अनुसार नवलपरासी जेलमा पनि प्रेमबहादुर सारुमगर, राजु खाम्जामगर, खड्कजित घर्तीमगर र एक तामाङले पनि १२ वर्ष जेल सजाय भोग्दै आएका छन् ।

गाई तथा गोरु मारेको प्रकरणमा परेर हालै गोरखाका ल्हाक्पा तामाङको निधन पनि भएको छ । वीर अस्पतालमा आईसियुमा केही घण्टा राखेपछि उनको निधन भएको हो । प्रहरीको गोली लागी तामाङको निधन भएपछि नेपाल आदिवासी जनजाति महासंघ, नेपाल तामाङ घेदुङ, मृतकका छोराहरू र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व भएको बैठकले गोली हान्न आदेश दिने प्रशासन र गोली हान्ने प्रहरीलाई तत्काल निलम्बनका साथै धर्मनिरपेक्षतासँग बाझिएका गौहत्यासम्बन्धी सम्पूर्ण ऐनकानुनको समेतको खारेजको माग गरेका छन् ।

केही महिनाअघि पाँचथरमा ६ जनालाई गाई 'मारेको' अभियोगमा समातिएकोमा आपत्ति जनाउ"दै प्रा. कृष्ण भट्टचनले एउटा कार्यक्रममा बोल्दै भनेका छन्, उनीहरूले सबै देखिने ठाउँमा मारेको हैन भने उक्त गाई या गोरुको मासु खान पाउनु उनीहरूको अधिकार हो र कुनै समुदायले अर्को समुदायलाई यो खा, त्यो खान पाउँदैनस् भन्न पाउँदैन ।

नेपाली राज्यले सम्मिलन प्रक्रिया (एसिमिलेसन प्रोसेस)अन्र्तगत केही समुदायका धर्म, परम्परा र संस्कृतिको मात्रै रक्षा गरेको अनुभूति यस राज्यभित्र बसेका धेरैजसो समुदायले गर्दै आएका छन् । यसो गरिँदा अरु समुदायका संस्कृति, धर्म, भाषा, सीप, रहनसहन र परम्परा लोप हुँदै जान्छन् र उनीहरूका मानवअधिकार पनि हराउँछन् । जब 'अछूत' तथा 'मतवाली' कहलिएका समुदायले राज्यद्वारा संरक्षित केही समुदायका मात्र भाषा, भेषभुषा, धर्म र संस्कृतिलाई 'पवित्रता'को आडमा अँगीकार गर्न बाध्य हुन्छन्, तब राष्ट्र नबन्नु पनि स्वाभाविकै हुन्छ । त्यसैले राष्ट्र बनाउनु छ भने, राष्ट्रियतालाई जोगाउनु छ भने देशभित्र रहेका हरेक समुदायका भाषा, संस्कृति र अधिकारको संरक्षण र संवर्धन गर्नुपर्छ, नत्र भने यहाँ कयौं सिके राउत जन्मिने खतरा बढ्दो छ ।


No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Welcome

Website counter

Followers

Blog Archive

Contributors